
कोरोना महामारीसँगै सुरु भएको कोरोना बीमाका कारण बीमा कम्पनीहरु टाट पल्टन सक्ने खतरा बढ्दै गएको चर्चा शुरु हुन थालेको छ । बीमा दाबी भुक्तानीमा समस्या त छँदैछ, परेको दाबी सबै भुक्तानी भए बीमा कम्पनीहरु नै समस्यामा पर्नसक्ने खतरा बढ्दै गएको हो । एकातिर बीमा समितिले पोलिसि बेच्न स्वीकृति दिनु नै गलत भएको तर्क छ भने अर्कोतर्फ दाबी गरेको लामो समयसम्म पनि भुक्तानी नपाउँदा बीमा गर्नेहरु बीमा कम्पनीप्रति आक्रोशित छन् ।
बीमा समितिका एक उच्च अधिकारीले कोरोना बीमामा परेको दाबी सबै भुक्तानी गरे बीमा कम्पनीहरुलाई समस्या पर्ने बताउँछन् । उनका अनुसार केही बीमा कम्पनीहरुले त बीमा भुक्तानी गर्दा आफ्नो पुँजी नै सकिन लागेको गुनासो गर्न थालेका छन् ।
बीमा समितिमा प्राप्त भएको कोरोना बीमाको पछिल्लो तथ्यांकले २ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको त दाबी भुक्तानी हुन बाँकी नै रहेको देखाउँछ । हालसम्म ४७ करोड ७७ लाख २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । यस आधारमा भन्ने हो भने ३ अर्ब १८ करोड ९ लाख ७५ हजार रुपैयाँ बराबरको दाबी परेको देखिन्छ ।
बीमा कम्पनीले बेहोर्ने सीमा लगभग सकिन लागेको छ । त्यसभन्दा माथि जति परेपनि सरकारले तिर्ने सहमति भएपनि अहिले मापदण्डले गरेको व्यवस्थामा अनुदान र सरकारले आर्थिक दायित्व लिने व्यवस्थालाई कानुनी चुनौती दिँदै सर्वोच्च अदालतमा रिट समेत दायर भएको छ । बीमा कम्पनीहरुले नै सबै बेहोर्नुपर्ने र नेपाल सरकारको कुनै दायित्व नरहने भन्दै परेको रिट अदालतमा विचाराधीन छ ।
कोरोना बीमा सम्बन्धी मापदण्डमा कोभिड–१९ का सन्दर्भमा साढे २ अर्ब रुपैयाँभन्दा बढी बीमा दायित्व भएको अवस्थामा नियमनकारी निकाय बीमा समितिले र साढे तीन अर्बभन्दा माथिको हकमा नेपाल सरकारले बेहोर्ने उल्लेख गरेको छ ।








