मुख्य खबरसमाचारफिचर

राप्ती खोलामा पुलको शिलान्यास

संवाददाता

खबर बाकस \ बागमती प्रदेश सरकारको लगानीमा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ११ को नवलपुर र वडा नम्बर १२ को आलदमार जोड्ने पक्की पुल निर्माण हुने भएको छ । पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गर्दै प्रदेश सरकारले निर्माण गर्ने पुलहरुमा सबैभन्दा बढी लगानीको पुल भएको बताए ।

मुख्यमन्त्री पौडेलले पुल निर्माणपछि पदमपोखरी क्षेत्रको वृहत्तर विकास हुने र चक्रपथसँग जोडिने भन्दै निर्माण कम्पनीलाई पुल समयमा निर्माणमा पुरस्कृत र नभएमा कारबाही गरिने छ भने । पुल निर्माणले यसक्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकोले जनप्रतिनिधि र स्थानीय बासिन्दालाई सहयोग गर्न आग्रह गरे । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले कार्यतालिका बनाएर विकास निर्माणको काम गरिरहेको चर्चा गरेका थिए ।

हेटौँडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुली र वडा नं. १२ का वडाअध्यक्ष ललित घलानले पुल निर्माणपछि पदमपोखरी नयाँ सहरको रुपमा विकास हुने बताएका छन्,। प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले पुलको निर्माण लागत मूल्य अभिवृद्धि करसहित २६ करोड ४१ लाख ८७ हजार दुई सय रुपियाँ रहेको जानकारी दिए ।

२१५ मिटर लम्बाइ र ११ मिटर चौडाइ हुने निर्माणाधीन पुलको दुवैतर्फ सात सय मिटरको पहुँच मार्गसँगै सात सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण हुने छ ।