
काठमाडौं \ व्यवसायी अजेयराज सुमार्गीविरुद्ध प्रकाशित समाचार सत्यतामा आधारित नरहेको ठहर्याउँदै काठमाडौं जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सले खण्डन छाप्नुपर्ने ठहर गरेको छ।
आर्थिक सौदाबाजी गरी आफूबाट अनुचित लाभ लिने नियत राखी आधारहीन समाचार छापेको भन्दै सुमार्गीले कान्तिपुर पब्लिकेसन्स, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधानसम्पादक सुधीर शर्मालाई विपक्षी बनाई गाली बेइज्जती मुद्दा दायर गरेका थिए।
सोमबार गरिएको अन्तिम फैसलामा न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले कान्तिपुरले खण्डन छाप्नुपर्ने फैसला गरेको हो। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाले सौदाबाजीको उद्देश्यले भ्रामक सामग्री प्रकाशन–प्रसारण गरेको सुमार्गीको आरोप थियो। कान्तिपुरलाई नजराना चढाएर मात्रै व्यापार गर्न पाइने खराब नजीर बसेको भन्दै सुमार्गीले सिरोहियाले पत्रिकाको दुरुपयोग गरेको बताएका थिए।
विवादको चुरो तीनकुनेको जग्गा
सुमार्गी र सिरोहियाले २०७० सालमा आपसमा जग्गाको कारोबार गरेका थिए। सिरोहिया सञ्चालक रहेको काठमाडौं मार्ट प्रालिको नाममा रहेको तीनकुनेस्थित प्राइम प्रोपर्टी सुमार्गीको मुक्तिश्री सिमेन्ट प्रालिले खरिद गरेको थियो।
सुमार्गीका अनुसार‚ आफ्नो व्यवसायिक संकटको अवस्था दर्शाउँदै सिरोहियाले जग्गा खरिद गरिदिन अनुरोध गरेपछि उक्त कारोबार भएको थियो। तर‚ कारोबारको केही समयपछि सिरोहियाले पुरानै मूल्यमा जग्गा फिर्ता मागेपछि समस्या सुरू भएको सुमार्गी बताउँछन्।








