
खबरबाकस \ संघीय सरकारको अनुदानमा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणका लागि आज सोमबार भुमि पुजन गरी शिलान्यास गरिएको छ ।
चेपाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा ९५ वर्षका तुल बहादुर चेपाङले भुमि पुजन गरि भवन निर्माणको शिलान्यास गर्नुभएको छ । चेपाङ समुदायको पुरोहित पाण्डेको प्रयोग गरि सोही परम्परा अनुसार गाउँपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङ, वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले संयुक्त रुपमा पुजा गरि शिलान्यास गरिएको हो ।
अब विरामी भए पछि मनहरी बजार, हेटौंडा तथा चितवन जान नपर्ने गरि स्वास्थ्य सेवा प्रदान गरिने गाउँपालिकाका उपाध्यक्ष निर्मला हिमडुङले बताउनुभयो ।
संघीय सरकारको अनुदानमा राक्सिराङ सहित मनहरीमा १५ शैया, थाहानगर १५ शैया, कैलाशमा १० शैया र ईन्द्रसरोवरमा ५ शैयाको अस्पताल निर्माण गरिने भएको छ ।
कार्यक्रममा अस्पताल निर्माण गर्न जग्गा दान गर्ने दाता हरि बहादुर प्रजा, स्वास्थ्य शाखा प्रमुख विजय कुमार कापरी, गाउँपालिकाका डा. धन बहादुर खत्री सञ्चारकर्मी श्रीराम अर्जुन, केशब समर्पण लगायतको उपस्थिती रहेको थियो ।








