मुख्य खबरसमाचारफिचर

कोरोनाले एकादशीमा देवघाट आउने भक्तजनको संख्या घट्यो

संवाददाता

चितवन \ पवित्र धार्मिक तीर्थस्थल देवघाटमा कोरोनाले गर्दा हरिबोधनी एकादशीको अवसरमा आउने भक्तजनको संख्या घटेको छ ।

विगतको वर्षमा ठूलो मेला लाग्ने यस ठाउँमा कोरोनाका कारण बिहीबार भक्त्तजनको कमी आएको हो । यद्यपि देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को संक्रमणको जोखिम यथावत रहेकाले नआउन आग्रह गरे पनि समितिका अध्यक्ष शिवराज शर्माले स्वतस्र्फूतरुपमा ५/७ हजार भक्तजन पूजापाठको लागि आएको बताए ।

समितिले बुधबार विज्ञप्ति प्रकाशित गरी हरिबोधनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेको थियो । विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा श्रद्धालुको ठूलो जमघट हुने परम्परा रहिआएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिम यथावत् नै रहेको र मेला पर्व, उत्सव गरी भीडभाड नगर्ने सरकारको नीति कायमै रहेको उल्लेख छ । परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्पराअनुसार मनाउनसमेत अनुरोध गरिएको छ ।

भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने कुरा उल्लेख गरिएको छ । यसै अनुसार हिन्दू धर्माबलम्बीहरुले बिहानै नुवाइधुवाइ व्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्छन् । देवघाटमा बजागाजासहित फूलको डोली नदीमा लैजाने र फूल तार्ने परम्परा चल्दै आएको छ ।