
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी पुनः निर्धारण गरेका छन्। सचिवालयमा कार्यरत सहसचिव र उपसचिवसरहका सदस्यहरूलाई विभिन्न क्षेत्रको संयोजक तथा उपसंयोजकको जिम्मेवारी दिइएको हो।
नयाँ व्यवस्थाअनुसार पाँच जनालाई संयोजक र पाँच जनालाई उपसंयोजक तोकिएको छ। यसअघि सचिवालयमा यसरी क्षेत्रगत रूपमा संयोजक र उपसंयोजकको व्यवस्था गरिएको थिएन।
सचिवालयमा सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वयको जिम्मेवारी दिइएको छ। यसअघि उनी विकास परियोजनासम्बन्धी काममा केन्द्रित थिए। त्यसैगरी, सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक बनाइएको छ। यसअघि उनले कार्यक्रम तथा भ्रमण संयोजनको जिम्मेवारी सम्हाल्दै आएका थिए।
विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसअघि उपसचिवसरहको हैसियतमा सचिवालयमा कार्यरत अधिकारीलाई सहसचिवसरहको सदस्यमा बढुवा गर्दै संयोजकको जिम्मेवारीसमेत दिइएको हो।
त्यस्तै, दिपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको छ। यसअघि प्रेस तथा अनुसन्धान विज्ञका रूपमा कार्यरत उनलाई नयाँ जिम्मेवारी दिइएको हो। यसपटक सचिवालयमा अनुसन्धान विज्ञ भने कसैलाई नियुक्त गरिएको छैन। दाहालले पनि अब उक्त जिम्मेवारी पाएकी छैनन्।
विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक तोकिएको छ। उनले यसअघि पनि प्रधानमन्त्रीको सचिवालयमा सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका थिए।
यसैगरी, पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिइएको छ। सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय, प्रकृति ढकाललाई स्वास्थ्य समन्वय, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दिपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजक बनाइएको छ। उनीहरूले उपसचिवसरहको सेवा सुविधा पाउनेछन्।
उता, सूचना प्रविधि विज्ञका रूपमा सहसचिवसरहको सेवा सुविधा पाउँदै आएका सचिवालय सदस्य माधव खनाललाई भने जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्रीको सचिवालय सदस्यहरूको पछिल्लो सूचीमा उनको नाम समावेश छैन।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार अहिलेसम्मको कार्यसम्पादन मूल्यांकनका आधारमा जिम्मेवारीमा फेरबदल गरिएको हो। कामको प्रकृति र कार्यसम्पादनलाई ध्यानमा राखेर केही सदस्यलाई थप जिम्मेवारी दिइएको र केहीलाई जिम्मेवारीबाट मुक्त गरिएको ती सदस्यले बताए।
'सचिवालयका सदस्यहरूको कार्यसम्पादनका आधारमा नयाँ जिम्मेवारी निर्धारण गरिएको हो। ठूलो परिवर्तन नभए पनि केहीलाई जिम्मेवारी थप्दै बढुवा गरिएको छ भने केहीलाई बढी भएको जिम्मेवारीबाट हटाइएको छ,' ती सदस्यले भने।
यसैबीच, प्रधानमन्त्रीका मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार (बेन) नै निरन्तर छन्। मन्त्रीसरहको हैसियत भए पनि उनी अवैतनिक रूपमा कार्यरत छन्। राजनीतिक सल्लाहकारमा असिम शाहले निरन्तरता पाएका छन्।
त्यसैगरी, स्वास्थ्य सल्लाहकारका रूपमा प्राडा जगदीशप्रसाद अग्रवाल पनि यथावत् छन्। उनी मन्त्रीसरहको हैसियतमा रहे पनि अवैतनिक रूपमा सेवा दिइरहेका छन्।







