
काठमाडौं / चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा चिनियाँ पक्षले आइतबारदेखि औपचारिक रूपमा बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ। नेपाल सरकार र चीनबीच भएको समझदारी अनुसार चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गर्न लागेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। उनका अनुसार चिनियाँ पक्षले आगामी भदौ ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने छ। सीमा नाकामा अवरुद्ध सडक सम्पर्क शीघ्र सुचारु गर्न अस्थायी रूपमा बेलिब्रिज निर्माणका लागि आज रसुवाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निर्माणस्थलको अवलोकन गरेको थियो।
यसैगरी रसुवा र चीनका स्थानीय अधिकारी बीचमा निर्माणस्थलबाटै भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकका क्रममा विपदको समयमा भएका उपद्वार, राहत एवम् विपदपश्चातको पुनर्निर्माण र पुनर्स्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको छ।
प्रस्तावित बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्नका लागि स्थानीय प्रशासनबाट उपयुक्त वातावरण निर्माणका गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त भएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले चिनियाँ अधिकारीसँग चीनको केरुङमा रहेका नेपाली र उता अड्किएका सवारी साधनको एकिन तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको बताए। उनले भने, ‘हामीले उहाँहरूसँग केरुङमा अड्किएका बाँकी नेपाली र मालवाहक कन्टेनरको एकिन तथ्यांक माग गरेका छौं। उहाँहरू माथिल्लो निकायसँग छलफल गरेर उपलब्ध गराउने बताउनुभएको छ।’ चीनले यसअघि केरुङमा अड्किएका दुई बालबालिकासहित २०५ जना तातोपानी नाका हुँदै नेपाल ल्याएको थियो।








