
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेसनबाट उम्मेदवार मनोनयन दर्ता शुल्क बापत चार लाख ३९ हजार रुपैंया शुल्क संकलन भएको छ । निर्वाचनमा ४८ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
सोमबार भएको निर्वाचनमा पदाधिकारीको सभापतिमा तीन जना, उपसभापतिमा ७ जना, सचिवमा ६ जना, सह सचिवमा ७ जनाको उम्मेदवारी परेको थियो । त्यस्तै भूगोल तथा कल्स्टरमा गरी ९२ जना सदस्यहरुको उम्मेदवारी परेको थियो ।
कांग्रेस मकवानपुरको १४ औं अधिवेसनका लागि सभापति पदमा उम्मेदवारी मनोनयन दर्ता शुल्क १० हजार तोकिएको थियो । जस अनुसार तीन जना सभापतिको तीस हजार दस्तुर संकलन भएको छ भने उपसभापतिमा सात हजारको दरले ४९ हजार, सचिवमा ६ जनाको सात हजारको दरले ४२ हजार र सहसचिवमा ७ जनाको ६ हजारको दरले ४२ हजार गरि पदाधिकारिमा एक लाख ६३ हजार दस्तुर संकलन भएको निर्वाचन सहायक अधिकृत राम कुमार अधिकारीले बताए ।
यस्तै सदस्य पदका लागि ९२ जनाले तीन हजारका दरले मनोनयन दर्ता शुल्क दुइ लाख ७६ हजार संकलन भएको अधिकारीले बताए । यो सँगै कांग्रेस मकवानपुरको जिल्ला अधिवेसनबाट चार लाख ३९ हजार मनोनयन दर्ता शुल्क संकलन भएको अधिकारीले बताए ।








