
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत आज भएको मतदान प्रकृया सकिएको छ । साँझ ६ बजे सम्मलाई तोकिएको समय भित्र मतदान प्रक्रिया सकिएको हो ।
मतदान प्रक्रियामा एक हजार सात सय ७५ जनाले मतदान गरिएको सहायक मतदान अधिकृत रामकुमार अधिकारीले बताए । प्रतिनिधि सभा क्षेत्र १ को (क)मा ४९५ मत, (ख)मा २६२ मत खसेको छ भने प्रतिनिधि सभा क्षेत्र २ को (क)मा ५०२ र (ख)मा ५१६ मत खसेको अधिकारीले बताए ।
मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १ हजार ८५३ जना क्षेत्रीय प्रतिनिधिहरु (बुथ प्रतिनिधि) मतदाता रहेका थिए । जसमा ७८ जना मतदाता भने अनुउपस्थित भए ।
सभापति पदको मत आजै गणना हुने जनाइएको छ । नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा मत गणना गरिने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका थिए ।
सभापतिमा कडा प्रतिस्पर्धा भएका कारण दोस्रो चरणमा भोली पुनः निर्वाचन हुने देखिन्छ । कांग्रेसमा सभापति पदका लागि खसेको मतको ५१ प्रतिशत मत पुग्नुपर्ने विधानमा उल्लेख रहेको छ ।








