
काठमाडौँ \ प्रहरी प्रधान कार्यालयले आगामी स्थानीय तह चुनावका लागि १ लाख १८ हजार २ सय ३१ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रस्ताव गरिएकै संख्यामा भर्ना गरिए म्यादी प्रहरीको तलब/भत्ता र खाजामा करिब ७ अर्ब रुपैयाँ खर्च हुनेछ ।
प्रहरीले आगामी वैशाख ३० मा हुने चुनावमा सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अलावा ५० दिनका लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने गरी निर्वाचन सुरक्षा कार्ययोजनाको मस्यौदा तयार गरेर गृह मन्त्रालयमा बुझाएको छ ।
कार्ययोजनामा सुरक्षा निकायबाट अवकाशप्राप्त सुरक्षाकर्मी, पूर्वम्यादी प्रहरी, निजी सुरक्षा गार्ड, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका व्यक्तिलाई म्यादीमा प्राथमिकता दिएर भर्ना गर्नुपर्ने प्रस्ताव छ । कार्ययोजनालाई अन्तिम रूप दिन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ ।
‘एकै चरणमा निर्वाचन गर्नुपर्दा चारवटै सुरक्षा निकायबाट मात्रै सुरक्षा व्यवस्थापन गर्न कठिन छ, विगतका सुरक्षा मापदण्डअनुसार व्यवस्थापन गर्दा जनशक्ति अभाव हुन सक्छ, त्यही भएर यस पटक म्यादीको संख्या बढ्न सक्ने देखिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘प्रहरी प्रधान कार्यालयबाट सुरक्षा कार्ययोजनासम्बन्धी प्रस्ताव आएको छ, त्यसमा समीक्षा भइरहेको छ ।’ उनले म्यादीको संख्याका विषयमा बजेट र आवश्यकता हेरेर निर्णय हुने जानकारी दिए ।








