
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निवर्तमान नगर सभापति आनन्दराम पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार हेटौंडाको एभोकाडो होटलमा पत्रकार सम्मेलन गर्दै पराजुलीले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले मकवानपुरमा कांग्रेसमय बनाउने, स्थानीय तहको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने र कार्यकर्ताको भावना अनुसार पार्टीलाई रुपान्तरण गर्दै अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
‘अब मकवानपुर लाल किल्ला होइन । कांग्रेसको किल्ला बनाउँनेछौं भन्दै अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा चुनाव हारेपछी पनि निरन्तर जनतासंगै र कार्यकर्ता माझै रहेर काम गरिरहेको बताए । उनले सभापतिमा हारे भने पनि यसरी नै लागिरहने बताए ।
उनले पार्टीको पूर्वसभापति, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’को साथ लिएर जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।
प्रतिनिधिसभा क्षेत्र १ का सभापति दामोदर खनालको अध्यक्षतामा भएको घोषणा कार्यक्रम तथा भेटघाट कार्यक्रममा प्रदेश क्षेत्रका सभापति, हेटौंडा उपमहानगर सभापति, गाउँपालिकाका सभापति, वडाका सभापतिहरुका साथै प्रतिनिधि मतदाताहरुको उपस्थिती रहेको थियो ।








