मुख्य खबरफिचर

तीन शीर्ष नेताहरुबीच एमसीसी बारे जुटेन सहमति

संवाददाता

काठमाडौं \  अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौतालाई संसदबाट अनुमोदन गराउने विषयमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ ।

एमसीसी र स्थानीय निर्वाचनका विषयमा कुरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नु भएको थियो ।

उहाँहरुबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गराउन सके सत्ता गठबन्धन कायम रहने बताउनु भएको थियो ।

सत्तारुढ दलका तीन शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन । जवाफमा प्रचण्ड र नेपालले चुनाव अगाडि तत्काल एमसीसी अनुमोदन गर्न नसकिने बताउनु भएको छ ।

उहाँहरुबीच आजै साँझ वा भोलिसम्ममा पुनः छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई संसदबाट पारित गराउने प्रतिवद्धतासहित लेखेको पत्र बाहिरिएपछि यतिबेला सत्तारुढ दलहरुबीच तित्तता सुरु भएको छ ।