
खबरबाकस \ बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमालाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि पिपिआर खोप लगाउने अभियान सुरु गरेको छ ।
मन्त्रालयले मंगलबार जुम मार्फत अभियानको उद्घाटन गर्दै खोप अभियान सुरु गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री बशुन्धरा हुमागाईले खोप अभियानको सुरुवात गर्नुभएको हो । मंगलबारबाट सुरु भएको अभियान फागुन २ गते सम्म चल्नेछ ।
एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र सञ्चालन गरि भ्याक्सिनेटरहरुले खोप लगाउनेछन् । पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोप लगाइने मन्त्रालयले जनाएको छ । प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेको मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो ।
जुम मार्फत भएकोको कार्यक्रममा राज्यमन्त्री इन्द्रमाया गुरुङ, मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधान, १३ जिल्लाका भेटेरिनरी विज्ञ केन्द्रका प्रमुख, नेपाल पाराभेटेरिनरी एशोसिएसन, नेपाल व्यवसायिक बाख्रा पालक उत्पादक महासंघ लगायतको सहभागिता रहेको थियो ।








