
हेटौंडा \ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु नगर्न सबैमा आग्रह गरेका छन् । विश्व क्यान्सर दिवसमा शुक्रबार स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु नगर्न÷नगराउन आग्रह गरेका हुन् ।
उनले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु जस्तै सूर्तिजन्य पदार्थ तथा मदिरा सेवन नगर्न, कुपोषण, प्रदुषण, नियमित व्यायामको कमी लगायतका विषयमा ध्यान दिन अपिल गरेका छन् ।
स्वास्थ्य सन्देशमा क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि पौष्टिक आहार, स्वच्छ वातावरणमा जीवनयापन, नियमित शारीरिक व्यायाम, नियमित स्वास्थ्य परीक्षण र बेलैमा रोगको निरुपणका लागि लाग्न सबैमा अनुरोध गरिएको छ ।
मन्त्री लामाले क्यान्सर रोगको उपचारका लागि बागमती प्रदेश सरकारले उपलव्ध गराएको ५० हजार रुपैयाँ अनुदानको सदुपयोग गर्न समेत अनुरोध गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा क्यान्सरबारे सचेतना अभिबृद्धि गर्न, क्यान्सर रोगको उपचारमा प्रोत्साहन गर्न, रोगको रोकथाम तथा नियन्त्रणका लागि अवलोकन गर्ने दिनको रुपमा दिवसलाई लिइएको उल्लेख गर्दै सन्देशमा विश्वव्यापी रुपमा क्यान्सर रोगबाट बाँच्न र बचाउन पहल गरी क्यान्सर रोगको व्यापकतालाई घटाउन, प्रादेशिक, राष्ट्रिय तथा विश्वव्यापी रुपमा एकिकृत विकासका एजेण्डा तथा रणनैतिक योजना निर्माण गरी यस रोगको असर कम गर्ने लक्ष्य लिइएको जनाइएको छ ।









