
हेटौंडा \ हेटौंडामा एक तेस्रो लिंगीको हत्यामा संलग्नहरूलाई जिल्ला अदालत मकवानपुरले कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला गरेको हो ।
न्यायाधीश श्रेष्ठको इजलासले तेस्रो लिंगी नाम परिवर्तन ‘कमलडाँडा एफ’ को हत्यामा संलग्न सुशिल थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद र डाँकाको कसुरमा ९ वर्ष कैद र ९० हजार जरिवानासहित पीडित परिवारलाई जनही ३ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
त्यस्तै, शव दवाउन र लुकाउन संलग्न भएको कसुरमा सिमोन परियारलाई ४ वर्ष कैद, डाकाको कसुरमा ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’ लाई १६ वर्ष ८ महिना कैद, डाका कसुरमा ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडित परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
त्यस्तै, अदालतले तेस्रो लिंगीको चोरी भएको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ । अदालतले पीडितको परिवारलाई पीडित राहत कोषबाट थप ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको निमित्त स्रेस्तेदार अमृत घिमिरेले जानकारी दिए ।
अदालतले गोपनीयता कायम नगरेको भन्दै अनुसन्धान अधिकारीलाई सचेत गराउने फैसला समेत गरेको छ । २०७६ साल माघ ४ गते विहान कान्तिलोकपथस्थित हेटौंडा-५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा हेटौंडाकै एक तेस्रो लिंगीको शव फेला परेको थियो ।








