
खबरबाकस \ बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेटौंडा १० बसपार्कमा संचालित खोप अभियानको अनुगमन गरेका छन् । पुरानो नारायणी यातायात कम्पनी प्रालि तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा १० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उपकेन्द्रमा संचालन भइरहेको कोरोना विरुद्धको खोप अभियान तथा माक्स वितरण कार्यक्रमको बिहीबार अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा स्वास्थ्य मन्त्री लामाले यातायात कम्पनी र सामुदायिक प्रहरी सेवा उप केन्द्रमा संचालित खोप अभियानको प्रशंसा गरेका थिए ।
उनले राजमार्ग भएर चल्ने सवारी चालक तथा सहचालकलाई विशेष प्राथमिकता दिएर संचालित खोप अभियानले निन्तरता पाउने बताए। मन्त्री लामाले बागमती प्रदेश भित्र रहेका सबै जिल्लाको स्थानीय तहमा पुगेर खोप अभियान सञ्चालनमा बागमती प्रदेश सरकार पछि नहट्ने बताए।

अनुगमनको क्रममा यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, सेवा उप केन्द्र अध्यक्ष प्रदीप कंडेल लगायतको उपस्थिती रहेको थियो । मन्त्री लामाले कोरोना खोप लगाउने लाइनमा बसेका सेवाग्राहीलाई निर्धाक्क भएर खोप लगाउन अनुरोध गरेका थिए। सेवा उप केन्द्रमा दैनिक सरदर ४०० जनाले कोरोना विरुद्ध खोप लगाइरहेको उपकेन्द्रका अध्यक्ष कंडेलले बताए ।








