
हेटौंडा \ राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो । विवेकशील पार्टी संसदीय दलको मंगलबार दिउँसो काठमाडौंमा बसेको वैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।
विवेकशील साझाको बागमती प्रदेशसभामा ३ जना सदस्य रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा हाल उम्मेदवार रहेको कोही पनि ठिक नलागेका कारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । यस दलले अघिल्लो राष्ट्रियसभाको निर्वाचनमा समेत मतदान गरेको थिएन ।
त्यस्तै, राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मतदान नगर्ने भएको छ । राप्रपाको मंगलबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ बाहेकका प्रदेशमा उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय लिएको हो । राप्रपाका महामन्त्री भुवन पाठकले प्रदेश १ बाहेकका प्रदेशमा पार्टीबाट उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने जानकारी दिएका छन् ।








