मुख्य खबरसमाचारफिचर

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा, मुख्यमन्त्री पाण्डेले गरे अनुगमन

संवाददाता

खबरबाकस \ राष्ट्रियसभा सदस्यअन्तर्गत् बागमती प्रदेशतर्फ खाली रहेको दुइ सिटका लागि (भोली) बुधबार हुने मतदानको तयारी पूरा भएको छ ।

मतदान स्थल, केन्द्र तथा सवारी पार्किङ स्थल, हेल्प डेस्क र स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने गरी आवश्यक सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा हुने निर्वाचनका लागि दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले छुट्टाछुट्टै मतदान गर्ने गरी दुईवटा मतदान केन्द्र निर्माण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान स्थलमा स्वास्थ्य कार्यालय मकवानपुरले हेल्पडेस्कसहित २ जना स्वास्थ्यकर्मी राख्ने व्यवस्था मिलाइएको छ । निर्वाचन प्रक्रिया विहान ९ बजेबाट सुरु भएर दिउँसो ३ बजे सम्म हुनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्ने गरी तयारी रहेको छ ।

मंगलबार दिउँसो मतदान केन्द्रको प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, मन्त्री तथा विपक्षी दलका मुख्य सचेतक दीपक निरौला, प्रदेशसभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहितको टोलीले अनुगमन गरेको छ ।

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा ६ जना उम्मेदवार रहेका छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ ।