
खबरबाकस \ नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा हरेक वर्ष माघ १० गते विजय उत्सव मनाइने गरेको छ । कोभिडका कारण २५९ औं विजय उत्सव आज सामान्य तरिकाले मनाउन लागिएको जनाइएको छ ।
मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा अवस्थित छ । साढे दुई सय वर्षअघि यही स्थानबाट अंग्रेजको फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास रहेको छ । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करीब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढी पनि हो । विसं १६१० मा सेनवंशीय राजाको शासनकालमा गढी निर्माण भएको अध्ययनबाट देखिन्छ ।
सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न गएका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा बिक्रम सम्व्त १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।
मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकवाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएका थिए ।
विदेशी फौजमाथि विजय प्राप्त गरेको स्मरणमा विजय उत्सव मनाइने गरेका हो । नेपाली फौजले मीर कासिम फौज पराजित भएपछि उनीहरुवाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास सुरु गरेका हुन ।
पृथ्वीनारायण शाहले त्यतिबेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिवक्स गण गठन गरेका थिए ।








