मुख्य खबरसमाचारफिचर

खोप अभियान लिएर चेपाङ गाउँमै पुगे स्वास्थ्य मन्त्री लामा

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान लिएर मकवानपुरको चेपाङ गाउँ पुग्नुभएको छ ।  मन्त्री लामा खोप अभियान लिएर शनिबार राक्सिराङ गाउँपालिकाका वडा नम्बर ५ ताङराङ पुग्नुभएको हो ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान संचालान गर्न मन्त्री लामा गाउँमै पुग्नुभएको हो ।

मन्त्री लामाले १३ जिल्लाका अतिसिमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदायस्तरमा खोप अभियान संचालन गरिएको बताउनुभयो । खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई समुदायमै पुगेर खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिनुभएको छ ।
Screenshot_20220122-16493-1642851373.jpg

त्यस्तै खोप अभियानकै क्रममा  भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभएको थियो ।

खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशन अनुसार अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताउनुभयो ।

अभियानमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, चेपाङ समुदायका अगुवा एवं धार्मिक अगुवाहरूको सहभागी रहेको थियो ।