मुख्य खबरसमाचारफिचर

कोभिड व्यवस्थापन समितिद्धारा अस्पताल र खोपकेन्द्रहरुको स्थलगत निरिक्षण

संवाददाता

 खबरबाकस \ जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरले विहीबार हेटौंडा अस्पतालको स्थलगत निरिक्षण गरेको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको नेतृत्वमा गएको टोलीमा हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महत, स्वास्थ्य कार्यालय, जिल्लाका विभिन्न सुरक्षा निकाय तथा सञ्चारकर्मीहरुको सहभागितामा निरिक्षण गरिएको थियो ।

प्रजिअ पाण्डेले कुनैपनि बेला संकट आइपर्ने अवस्था आउनसक्ने बताउदैं एम्बुलेन्स तथा अक्सिजन सेवालाई तयारी अवस्थामा राख्न आग्रह गरेका छन् । उनले अस्पतालमा आएका जनगुनासोहरु ल्याब, पिसीआर परिक्षण तथा अन्य समस्याहरुको बारेमा तत्काल समाधान गर्न अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाई आग्रह गरिएको थियो ।

अस्पतालमा सञ्चालन गरिएको कोभिड इमर्जेन्सी बेड, एचडियु सेवा, अक्सिजन प्लान्ट लगायत अन्य सेवाहरुको निरिक्षण गर्दै सबै कुराहरु तयारी अवस्थामा राख्न प्रसाईलाई अनुरोध गरिएको छ । हेटौंडा अस्पतालमा हाल सम्म डाक्टरहरु सहित ५४ जनामा कोरोना संक्रमण देखिएको भन्दै अध्यक्ष प्रसाइले स्वास्थ्यकर्मी व्यवस्थापनमा समस्या देखिएको बताए ।

उनले अस्पतालमा कोभिडको १२ वेडको इमर्जेन्सी सेवा तयारी अवस्थामा राखेको र एचडियु सेवामा ९ जनाले सेवा लिइरहेको बताए ।

निरिक्षणको क्रममा मेयर महतले स्वास्थ्यकर्मीलाई काम गर्न हौसला प्रदान गर्नुपर्ने बताउदैं उनीहरुले पनि सेवाग्राहीलाई ध्यान दिएर सेवादिनुपर्नेमा आग्रह गरेका थिए । साथै टोलीले गोरक्षश्वरमा रहेको स्वाव संकलन तथा खोप केन्द्र लगायत हेटौंडा बजारमा सञ्चालित माक्स अभियान कार्यक्रमहरुको स्थलगत अनुगमन गरिएको थियो ।