
काठमाडौं \ सत्तारूढ गठबन्धनका पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच वैशाखमा स्थानीय तह निर्वाचन गर्ने सहमति भएको छ । मिति तय गर्नेलगायत अन्य निर्वाचनसम्बन्धी विषयमा आगामी बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
स्थानीय चुनावको मिति तोक्न सत्तारूढ दलले आ-आफ्ना पार्टीमा छलफल गर्ने भएका छन् । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा गठबन्धनका सबै नेताहरू संविधानअनुसार नै निर्वाचन गर्नुपर्छ भन्नेमा सहमति भए पनि मितिका बारेमा आन्तरिक छलफल गरेर सरकारलाई सुझाव दिने र सोहीअनुसार सरकारले मिति तोक्ने विषयमा सहमति बनेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तोकिएकै समयमा स्थानीय तह निर्वाचनका लागि दलहरू सहमत भएको जानकारी दिनुभयो । बैठकमा भएको सहमतिबारे जानकारी दिँदै कार्कीले भन्नुभयो, ‘निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत रहेका छन् ।
अरू थप विषयमा छलफल र निर्णयको लागि माघ ६ गते पुनः गठबन्धन समन्वय समितिको बैठक बस्नेछ ।’ मन्त्री कार्कीले अगाडि भन्नुभयो, ‘निर्वाचन आयोगसँग परामर्श गरेर हामीले संविधानले तोकेकै समयमा स्थानीय निर्वाचन सम्पन्न गरेर संघीयतालाई अझ मजबुत बनाउँदै र स्थानीय सकारले जनतालाई प्रभावकारी रूपमा सेवा– सुविधा पुर्याउने विषयमा सरकार गम्भीर छ ।’ यसअघि निर्वाचन आयोगले यसैसाता निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको थियो । निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिनको समय चाहिने भन्दै तत्काल मिति घोषणा गर्न आयोगले सरकारलाई आग्रह गरेको हो ।








