मुख्य खबरसमाचारफिचर

माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ : राष्ट्रपति भण्डारी

संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा  माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइने प्रचलन रहेको उल्लेख गर्दै उनले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी हुन् ।

साथै उनले कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन सबैमा आव्हान पनि गरेकी छन् ।

“सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रितरूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ,” राष्ट्रपतिले सन्देशमा भनेकी छन् ।