
हेटौँडा \ माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन् ।
पूर्वी मकवानपुरको बागमती र सिन्धुली जोड्ने पुल निरीक्षणक्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको हो ।
ठेक्का लागेको १० वर्ष नाघ्दा पनि नबनेको पूर्वी मकवानपुरको बागमतीबाट सिन्धुली जोड्ने बागमती पुल माघदेखि सञ्चालनमा आउने भएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पुल निर्माणबारे चासो लिँदै अनुगमन गर्नु भएको थियो ।
अनुगमनक्रममा पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यातायात सञ्चालनमा समस्या छैन, पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने छ, ३ वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा आफू पनि समस्यामा परेँ, अब काम करिब करिब सकिएको छ ।’ पुल निर्माणको लागि फाउन्डेसन नै बदल्नु परेकाले पनि निर्माणमा ढिलाइ भएको लामिछानेले बताउनुभयो ।

पुल निर्माणका लागि चैत मसान्तसम्म सीमा थपिएको र काम सकेर वैशाख १५ गते पुल शिलान्यास गर्नका लागि हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताउनुभयो ।
‘दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरु यही छोटो बाटो हुँदै माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न आउन सक्छन् ?’ मुख्यमन्त्रीको प्रश्नमा लामिछानेले भन्नु भयो, ‘कालोपत्रेका लागि एक दिन पुल बन्द हुन सक्छ, नत्र यातायात रोकिन्न ।’
मदन भण्डारी राजमार्ग अन्तर्गत बागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । निर्माण कम्पनीले तीनवर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।








