
खबरबाकस \ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्था बारे संघीय मन्त्रालयहरूलाई कुनै ज्ञान नै नभएको बताएका छन् ।
हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश भित्रका ४ वटा औद्योगिक क्षेत्रको पछिल्लो अवस्था बारे संघीय मन्त्रालय नै अनविज्ञ रहेको बताएका हुन् । उनले ती औद्योगिक क्षेत्रको अवस्था सुधार गर्ने काम संघीय मन्त्रालयको प्राथमिकतामा समेत नपरेको बताए । उनले ती औद्योगिक क्षेत्रको संरक्षण नहुँदा औद्योगिक क्षेत्रका जमिनहरू जङ्गलमा परिणत भएका छन् भने त्यसको अवस्था बुवा आमा नभएका टुहुरा सन्तानको जस्तो रहेको बताए ।
‘बागमती प्रदेशमा ४ वटा औद्योगिक क्षेत्रहरू पर्छन् । ती औद्योगिक क्षेत्रको अवस्था आमाबुबा गुमाएका सन्तानको हालत जे हुन्छ त्यस्तै छ । आज भन्दा ३० औँ वर्ष अघि जसले उद्योग खोल्छु भनेर जग्गा लिजमा लियो त्यो मान्छे अहिले कहाँ छ थाहा छैन तर उनीहरूकै नाममा त्यो जग्गाको स्वामित्व छ । बनमारा उम्रिसक्यो उद्योग बनाउने ठाउँमा बेहाल छ । त्यसको संरक्षण छैन । सिंहदरबारको मन्त्रालयलाई त्यो ज्ञान छैन ।’ उनले भने ।
विगतमा प्रदेश सरकारको विषयगत मन्त्रालय पर्यटन र वनसँगै रहेकाले उद्योगका क्षेत्रमा खासै काम गर्न नसकेको उनको भनाई छ । पर्यटन र वनका काम गर्न सजिलो हुने भएकाले उद्योगतर्फ कुनै मन्त्रीहरूको ध्यान नगएको उनले बताए । ती नै उद्योगहरूको विषयमा काम गर्न मन्त्रालय विभाजन गरेर सम्बन्धित मन्त्रीहरूलाई जिम्मेवारी दिएको र यसबाट सम्बन्धित क्षेत्रहरूमा देखिने गरी प्रगति हुने उनले बताएका थिए ।
‘खर्च बढ्छ भन्ने चिन्ता गरेर मन्त्रालय विभाजनको निर्णयको विरोध भइरहेको छ । मैले पनि देखेको छु । सरकारको खर्च बढ्नु पर्छ । सरकारको ढुकुटी सञ्चित गरेर राख्नु हुँदैन । खर्च गरे तरलता अभाव कम हुन्छ । खर्च गरेर काम गरेर नतिजा लिने हो । अहिले बैंकमा गयो भने योजना राम्रो छ तर ऋण दिन सक्दिन भन्ने जवाफ आउँछ । त्यो खर्च नगरेर भएको हो । आम्दानी बढाउने गरी सरकारले खर्च गर्नुपर्छ हामी त्यसैमा लागेका छौँ,’ मुख्यमन्त्री पाण्डेले भने ।
कृषि क्षेत्रलाई पनि उद्योगसँग जोड्दै लैजाने योजना अनुसार प्रदेश सरकारले हेटौँडा औद्योगिक क्षेत्र भित्रै एउटा प्रदेशस्तरको कृषि औजार तथा उपकरण उत्पादन कम्पनीको पनि स्थापना गर्ने तयारी गरेको उनले बताएका छन् ।








