
हेटौंडा \ मोबाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरले नारायणी महलमा रहेको सामसुङ सर्भिस सेन्टरमा तालाबन्दी गरेको छ ।
मोवाइलको नेपालको विक्रेता कम्पनी हीम इलोक्ट्रोनिक्सका बजार प्रतिनिधि उमेश थापाले म्यान मकवानपुरलाई सामाजिक संजालमा म्यानको मानहानी गर्दै अनावश्यक र कपोकल्पित रुपमा घेराबन्दी गरी आफुलाई ज्यान मार्ने सम्मको धम्की दिएको भन्ने अभिव्यक्ति दिएको भन्दै म्यान मकवानपुरले सामसुङ सर्भिसमा तालाबन्दी गरेको म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाले बताए ।
अध्यक्ष लामाले म्यानले एक महिना अघि हेटौंडा १० स्थित शिवम् मोबाईल र इलोक्ट्रोनिक्सका प्रतिनिधि वीचको विवादलाई वार्ता गराउने क्रमलाई लिएर इलोक्ट्रोनिक्सका बजार प्रतिनिधि थापाले सामाजिक संजाल मार्फत म्यानको मानहानी गर्दै अनावश्यक रुपमा सामाजिक सञ्जालमा लेखेको बताए ।
उनले मोबाईलका प्रतिनिधिले दिएको निवेदनमा म्यानले दुबै पक्षलाई राखेर विवाद मिलाउने क्रममा बजार प्रतिनिधि थापाले म्यानको मानहानी गरेको भन्दै शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार आइतबार सामसुङ सर्भिसमा तालाबन्दी गर्नु परेको बताए ।
उनले म्यानको मानहानी गर्ने अभिव्यक्ति दिने थापालाई हेटौंडाबाट सरुवा गर्नुपर्ने र सामसुङ कम्पनीले लिखित माफी माग्नुपर्ने आफुहरुको माग रहेको बताए । उनले कम्पनीले लिखित माफी नमागेको अवस्थामा जिल्लामा सामसुङ मोबाईल प्रतिबन्ध गर्ने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष लामाले आन्दोलनको कार्यक्रम को चरणमा ४८ घण्टा भित्र चित्त बुझ्दो जवाफ नआए जिल्ला भित्रको सामसुङ मोबाईलको बिक्री प्रतिनिधि तथा बजार प्रतिनिधिहरु बहिस्कार गर्ने जनाइएको छ ।
यसैगरि, अध्यक्ष लामाले तेस्रो चरणमा सामसुङ मोबाइल एक हप्ताको लागि सबै पसलहरुमा डिस्प्ले बन्द गरिने बताए । दुई चरणको आन्दोलनको कार्यहरुसम्म पनि समस्याको समाधान नभएको अवस्थामा पुनः कार्यसमितिको बैठक बसेर तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने बताए ।
आइतबार तालाबन्दी गर्नु अघि म्यान मकवानपुरको शनिबार भएको साधारण सभाले नै यो कार्य गर्ने निर्णय गरिएको म्यान मकवानपुर संस्थापक अध्यक्ष छतेन्द्र आचार्यले बताए । यही विषयलाई लिएर म्यान मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
तालाबन्दी कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका सदस्य तेजराज अधिकारी, म्यानका सल्लाहकार महेन्द्र राउत, म्यान मकवानपुरका पदाधिकारी लगाएत मोबाईल व्यवसायीहरुको सहभागिता रहेको थियो ।








