
खबरबाकस \ मकवानपुरगढी वडा नम्बर २ को कार्यालयले खानी उद्योगमा सञ्चालित लोड सवारी साधन एकतर्फी रुपमा वाइपास भई सञ्चालन गराउन अभियान सञ्चालन गरेको छ ।
शनिबार कुर्लेफाँटमा वडा अध्यक्ष बखान सिं पाख्रीन सहित वडा सदस्य रामप्रसाद पुडासैनी, टोल विकास संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि र स्थानीयहरुको उपस्थितीमा चुनढुङ्गा बोकी ल्याएको लोड सवारी साधनलाई कुर्लेफाँट हुदैं सोल्टीमोडबाट शिखरकटेरी कान्तिराजपथ निस्कने गरी आवातजावात गर्न पत्र दिईएको छ ।
शिवम् सिमेन्ट उद्योगका लागि प्रयोग गरिएका टिपर र अन्य ढुङ्गा, वालुवा तथा गिट्टी बोक्ने लोड सवारी साधनलाई समेत कुर्लेहुदैं गैरीभञ्ज्याङबाट शिखरकटेरी आवातजावातमा रोक लगाइएको वडा अध्यक्ष पाख्रीनले बताए ।
सवारी चापलाई मध्येनजर गर्दै बस्ती क्षेत्र बाक्लो रहनुका साथै बंशगोपाल माध्यामिक विद्यालय र चण्डिका माध्यामिक विद्यालय भएकाले बालबालिकाको अध्ययन र आवातजावातमा समस्या र सवारी दुर्घटना हुन सक्ने भएकाले एकतर्फी सञ्चालन गर्न आग्रह गरिएको उनले बताए ।

खाली सवारी साधन सञ्चालन हुने तर भारी सवारी साधन बस्ती हुदैं सञ्चालन गर्न नदिन पहिलो दिन चालकलाई पत्र प्रदान गरिएको उनले बताए । सवारी साधनले ओभरलोड, तीव्र गतिमा सञ्चालन भएकाले निर्माण भएका स्याल्बबाटो भत्कीसकेको अवस्थामा भारी साधन रोक्न बाध्य भएको अध्यक्ष पाख्रीनले बताए ।
वडा कार्यालयबाटै यस्तो अभियान सञ्चालन भएपछि स्थानीय र टोल विकासले पनि साथ दिएको हुनाले चालकले बदमासी नगरे अभियानले सार्थकता पाउने बताएका छन् ।
खानी क्षेत्रबाट शिवम् सिमेन्ट उद्योगमा सयौं संख्यामा साना ठुला टिपर सञ्चालनमा आइरहेका छन् ।








