
हेटौंडा \ मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ खैराङ, अठारेमा रहेको कालिका माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको समूहले विपन्न र जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामाग्री सहयोग गरेको छ । पूर्व विद्यार्थीको समूहले शुक्रबार विद्यालयमा पुगी १५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एक/एक थान स्वेटर, १६ थान फुटबल जर्सी र एक/एक थान फुटबल र भलिबल सहयोग गरेको हो ।
दुर्गम गाउँमा आफूले पढेको विद्यालयको माया र सम्झनाले केही पूर्व विद्यार्थीहरूले मिलेर विद्यार्थीलाई सहयोग गरिएको पूर्व विद्यार्थी धर्मराज स्याङ्तानले बताए । ‘१५ वर्ष अगाडि हामीले पढ्ने बेलामा विद्यालयमा भवन, शौचालय, खानेपानी, कम्प्युटर कक्षा जस्ता सुविधा थिएन, हामी विधार्थी शिक्षकहरू मिलेर ढुङ्गा, बालुवा, सिमेन्ट, फलाम बोकेर विद्यालय भवन बनाएका हौं ।’ स्याङ्तानले स्मरण गरे –‘धेरै दुःख गरेर पढेको स्कुलमा हामी आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन्छौं ।’
विद्यार्थीलाई पढाई लेखाईमा थप हौसला प्रदान गर्ने उद्देश्यले आफूहरुले सकेको सहयोग गरेको अर्का पूर्व विद्यार्थी हरि लोप्चनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय अभिभावक शिक्षक दित बहादुर घलान, योगेन्द्र प्रसाद जैसवाल, पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सूर्य अर्याललगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।सामग्री हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरु आयुष खड्का, विवेक सिलवाल, बालिका तामाङ, तिलक वाईबा, रिपेश नेगी तामाङ (श्रीमान), हरि लोप्चन लगायतको सहभागिता रहेको थियो ।








