
खबरबाकस \ हेटौंडा अस्पतालमा सञ्चालित स्वास्थ्य प्रयोगशाला(ल्याव) को बेवस्ता गरी अस्पतालका डाक्टरहरुले निजी मेडिकलका ल्यावमा परिक्षणका लागि पठाउने गरेको पाइएको छ । यहाँका डाक्टरहरुले अस्पतालको प्रयोगशालामा भरपर्दो रिपोर्ट नआउने बाहाना बाजीमा कमिशनको लागि बाहिरी प्रयोगशाला पठाउने गरेको गुनासो विरामीबाट आएको छ ।
जनगुनासोलाई मध्येनजर गर्दै सिधाखबरले फलोगर्दा विरामीलाई सामान्य पिसाब परिक्षणको लागि पनि निजी ल्याबमा पठाएको प्रमाण सहित भेटिएको छ ।
अस्पतालमा कार्यरत डाक्टर लोकेश भुजेल लगायतले हेटौंडाको एचआरएल नामक मेडिकल ल्याबमा परिक्षणका लागि सिफारिश गरि पठाउने गरेको पाइएको छ । डा. भुजेलले विहीबार विरामी रुद्रप्रसाद चौलागाईको युरियन सिएस परिक्षणको लागि अस्पतालमा भरपर्दो छैन भन्दै एचआरएल ल्याबमा परिक्षण गर्न पठाएका थिए ।
यस विषयमा डाक्टर भुजेललाई किन बाहिरी ल्याबमा परिक्षणका लागि पठाउनुभयो भनी सोध्दा अस्पतालको ल्याव भरपर्दो नभएको तथा सहि रिर्पोट नआउने भन्दै निजी ल्यावमा पठाउने गरेको बताएकाछन् । अस्पतालकै ल्यावको रिर्पोट नहेरी सिधै निजी ल्यावमा परिक्षणको लागि पठाउने परिपाटीले अस्पतालमा कार्यरत डाक्टर र निजी ल्यावबीच आर्थिक चलखेल हुने गरेको विरामीका आफन्तहरुले आरोप लगाएका छन् ।
सरकारी अस्पतालको ल्यावमाथी डाक्टरहरुकै विश्वास नहुनुले आम जनसमुदाय महँगो रकम तिरेर डाक्टरको सिफारिशमा निजी ल्याबमा परिक्षण गरिनुपर्ने बाध्यता हेटौंडा अस्तालमा देखा परेको छ । ल्याब मात्रै होइन डाक्टरहरुले विभिन्न औषधिहरु पनि निजी मेडिकलमा लिन पठाउने गरेको गुनासो पनि आइरहेका छन् ।

यस विषयमा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले अस्पतालको ल्यावलाई वेवास्ता गरी निजी ल्यावमा परिक्षण गर्न सिफारिश गर्नु गलत भएको बताउदैं पहिलो परिक्षण अस्पतालमै गरिनुपर्ने र शंका लागेमा मात्र बाहिरी ल्यावमा परिक्षणका लागि पठाउन सकिने बताए ।
गुनासो आएपछि आफुले कर्मचारीलाई यस्तो नगर्न सचेत गराएको र फेरी यस्तो क्रियाकलाप भएमा कर्मचारीलाई कारवाही गरिने सापकोटाले बताए । उनले अस्पतालको ल्याव सुधारका लागि आफुले बारम्बार प्रयास गरिरहेको समेत बताएकाछन् ।
बेलाबेलामा हेटौंडा अस्पतालमा कर्मचारीकै मिलेमतोमा चरम लापरबाही भएका समाचारहरु सञ्चार माध्यममा आइरहेका छन् । अस्पताललाई सुधार गरिन्छ भन्ने भनाइ अस्पताल सञ्चालक समितिको भनाइ आएपछि लामो समयसम्म सुधार हुन सकेको छैन् । अस्पताललाई मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान अन्तरगत रहेपछि अस्पताल राजनितिक भर्तिकेन्द्रमा परिणत भएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफ्नै श्रीमतीलाई जागिर खुवाइरहेका छन् भने अन्य समितिका सदस्यहरु पनि अस्पतालको सुधारभन्दा आफ्नै निजी मेडिकलहरु पोसाउन तिर लागिपरेका छन् । अस्पतालमा जडित नयाँ अक्सिजन प्लाण्ड बिग्रेको भन्दै बाहिरबाट अक्सिजन खरिद गरी ठुलो आर्थिक चलखेल भएको जनगुनासोहरु आइरहेका छन् ।
अस्पतालको फार्मेसी सेवामा पनि चलखेल गर्दै निजी मेडिकलका औषधिहरु विक्रिवितरणमा जोडतोड कर्मचारीहरुनै लागिपरेका छन् । भएको सरकारी अस्पताललाई प्रतिष्ठानमा गाभिएपछि यहाँका सर्वसाधारणहरु महँगो रकममा उपचार गर्न बाध्य भएकाछन् ।








