मुख्य खबरसमाचारफिचर

दूधकोशी जलविद्युत् आयोजनामा पाइप पड्किँदा दुईको मृत्यु

संवाददाता

सोलुखुम्बु \ सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनस्थित ८६ मेगावाटको सोलु खोला दूधकोशी जलविद्युत् आयोजनामा पाइप पड्किँदा दुई कामदारको मृत्यु भएको छ । घटनामा अन्य एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो ।

घटनामा आयोजनामा काम गर्ने अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए ।

घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

ज्यान गुमाएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुङ्गा अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउनेबित्तिकै उनको मृत्यु भएको प्रजिअ शाहीले बताए ।