
खबरबाकस \ मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले मानसिक रुपमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् ।
शनिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ बस्ने मानसिकरुपमा पूर्ण अशक्त ३२ वर्षकी लिलावती गिरीलाई नागरिकता प्रदान गरेका हुन् ।
प्रशासन कार्यालय ल्याउन लैजान नसक्ने भएपछि प्रजिअ पाण्डेले घरमै पुगेर गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको समेत उपस्थितीमा नागरिकता दिएका हुन् ।
नागरिकता विहिनताको कारणबाट नेपाल सरकार एवं स्थानीय तहबाट प्रदान हुने सुविधाबाट वञ्चित रहेकी लिलावती गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुचिश्चितता भएको प्रमुख जिल्ला अधिकारीले बताए । यसरी घरमै आएर नागरिकता प्रदान गरिएकोमा आफूलाई ठूलो राहत महसुस भएको विरामीका दाईले खुशी व्यक्त गरेका छन् ।








