
खबरबाकस \ वन उपभोक्ता समूहले अब उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । जनमुखी सामुदायक वनको प्रवद्र्धन स्वरुप विपन्न, गरिब, दलित र पछि परेका हुनेखाने होइन की हुदाँ खानेको लागि सामूदायिक वनहरुले काम गर्नुपर्ने बताएका छन् ।
बुधबार डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनमा जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा डिभिजनस्तरीय भएको समन्वय बैठकमा सरोकारवालाहरुले वन संरक्षण गरिनुका साथै वन सँग जोडिएर जडिबुटी खेती र उत्पादन मुलक कार्य गरिनुपर्ने बताएका थिए ।
आर्थिक स्तरवृद्धिमा वनसँग जोडिएर उत्पादनमुलक काम गरि वनमा पर्यापर्यटनको विकासमा जोड दिएका थिए ।मकवानपुर ठेकीको नामले चिनिएता पनि मायाको चिनो प्रदान गर्दा बाहिर जिल्लाबाट खरिद गरी दिनुपर्ने बाध्यतालाई हटाउन ठेकी निर्माण हुने काठ र त्यसको विरुवा रोपेर ठेकी उत्पादनमा वन कार्यालयले सहजीकरण गरिनुपर्ने बताएका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले उक्त कार्यालयबाट चार महिनामा भएका काम,उपलब्धी, आगामी कार्ययोजना, समस्या र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । आचार्यले जनतासँग वनका कुरा, जनताका मनका कुरा कार्यक्रमको अभियान चलाउने, स्थानीय तहको वन वातावरण ऐन निर्माण आदिमा सहकार्य, समन्वय, संवाद गरी वातावरणमुखी कार्यक्रम गर्ने, विद्यालय शिक्षा प्रवद्र्धन गरिने, वन अतिक्रमण, वन डढेलो, जथाभावी पूर्वाधार निरुत्साहित गर्ने गराउने, नदिजन्य श्रोत व्यवस्थापन, सामुदायिक वनको कोष परिचालनलाई पारदर्शी एंव प्रभावकारी बनाउने, वर पिपल, निम, समी, तुलसी, हर्रो वर्रो, अमला, विजय साल, सतिसालको वृक्षारोपण अभियान चलाउने जस्ता कार्य योजना रहेको बताए ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक तथा जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, नेपाली कांग्रेस प्रवक्ता प्रदीप पौडेल, एमाले सदस्य आरती पाठक, माओवादी केन्द्रका प्रमिला लामा पुलामी, नेकपा एसका अर्जुन प्रसाद दाहाल, राप्रपाका कृष्ण विडारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, हेटौंडा उपमहानगर सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, डिभिजन वन कार्यालय हेटौंडा प्रमुख इमनाथ पौडेल, आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंग बहादुर गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, निजी वन महासंघका अध्यक्ष पुष्पराज पराजुली, कबुलियती वन उपभोक्ता महासंघका अध्यक्ष सुन्तलीमाया चेपाङ, गैसस महासंघ उपाध्यक्ष रमिला सापकोटा, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य दिवस पराजुली, प्रहरी निरीक्षक देवेन्द्र दास तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।








