मुख्य खबरसमाचारफिचर

अब देउवा हामी सबैको सभापति हो : गगन थापा

संवाददाता

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् ।

महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए ।

उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा खुशी प्रकट गरे । आफूहरुले यही लोकतान्त्रिक अभ्यास खोजेको पनि उनले प्रस्ट पारे । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच घण्टासम्म बसेर मतदातासँग भोट मागेको उनले सुनाए । आफू पनि शेखर कोइरालाको आडमा बसेर त्यो बेला मत मागिरहेको उनले बताए ।

दुवै चरणमा भएको निर्वाचनमा आफूले देउवालाई भोट नदिएको जानकारी दिँदै गगनले भने, ‘तर अब देउवा हामी सबैको सभापति हो । पार्टीको हितमा काम गर्नुभयो भने हाम्रो सहकार्य उहाँसँग हुन्छ । उहाँ जहाँ चुक्नुहुन्छ, उहाँसँग हाम्रो संघर्ष हुन्छ ।’