मुख्य खबरसमाचारफिचर

हृदयेश त्रिपाठी नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन

संवाददाता

काठमाडौं \  मधेसी पार्टीबाट अलग भएर स्वतन्त्ररूपमा राजनीतिक गतिविधि गर्दै आउनुभएका सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नुभएको छ । पूर्व–मन्त्रीसमेत रहनुभएका त्रिपाठीले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टीको घोषणा गर्नुभएको हो । उहाँले पार्टीको नाम जनता प्रगतिशील पार्टी (जप्रपा) राख्नुभएको छ ।

पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले देशमा पार्टीको आभाव भएर नयाँ दल गठन गरेको नभई दलहरूबीच वैचारिक बहस प्रायः शून्य भएकाले पार्टी गठन गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्यवयनलाई बाधा उत्पन्न भई देशको राजनीति नै लिकभन्दा बाहिर गइरहेको देखिन्छ अन्य दलको आलोचना गरेर आफू असल दल सावित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन तसर्थ अन्य दलप्रति हाम्रो आत्मीय सम्मान छ ।’

उहाँले वर्तमान परिदृश्यमा दलहरूबीच न्यूनतम साझा विषयहरूमा राष्ट्रिय सहमतिको नितान्त आवश्यकता रहेको भन्दै यसले नै लिकबाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउने र संविधानलाई चलायमान बनाउने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्व-सहमति प्राप्त बुँदाहरूमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै आफ्नो पार्टीले संविधान संशोधनका लागि काम गर्ने पनि बताउनुभयो ।

पूर्व–मन्त्री त्रिपाठीले संविधान संशोधन, लेखापरीक्षण, स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरूको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरूमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभा सदस्य रेशम चौधरी हालसम्म जेलमा रहनु विडम्बना भएको पनि बताउनुभयो । पूर्व–मन्त्री त्रिपाठीले एमसिसीलगायत कतिपय विषयहरूमा राष्ट्रिय सहमति खोज्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा उहाँले आफ्ना भनाइहरूलाई नौ वटा बुँदामार्फत प्रस्तुत गर्नुभएको थियो ।