
काँग्रेस सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणमा हुन लागेको मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् । उनले मंगलबार एक विज्ञप्तिमार्फत आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणमा हुने मतदानमा देउवालाई भोट हाल्न आग्रह गरेका हुन् ।
दोस्रो चरणको मतदानमा देउवालाई विमलेन्द्र निधि,प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेका छन् । शेखरलाई एक्ल्याएर देउवा,विमलेन्द्र,प्रकाशमान र कल्याणबीच मोर्चा बन्दी भएपछि दोस्रो चरणमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ । देउवाले विमलेन्द्र,प्रकाशमान र कल्याणको समर्थन पाएपछि शेखरमाथि दबाब बढेको छ । देउवाले शेखर बाहेकका तीनजनासँग आजै भेटघाट गरेर आफूलाई समर्थन जुटाउनु भएको हो ।
शेखरले पनि विमलेन्द्र,प्रकाशमान र कल्याणसँग आफूलाई सघाउन आग्रह गरेपनि तीनै जनाले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्दै हुनुहुन्छ ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका लागि उम्मेदवार बनेका कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । दोस्रो चरणको निर्वाचन मंगलबार (आज) साढे ३ बजेबाट शूरु हुँदैछ ।
पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ ।
अब धेरै मत ल्याउने देउवा र शेखरबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो । सोमबार कांग्रेसका ४६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । जसमा ७६ मत बदर भएको थियो ।








