
काठमाडौं \ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणना सकिएको छ । सभापतिका उम्मेद्वार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्नु भएको छ । डा. शेखर कोइरालाले १७२९ मत, बिमलेन्द्र निधिले २४९ भोट ल्याउँदा प्रकाशमान सिंहले २८६ र कल्याण गुरुङले २० भोट प्राप्त गर्नु भएको छ ।
राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका थिए । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । सोमबार भएको निर्वाचनलगतै राति नै सभापतिको मतगणना सुरु भएको थियो । निर्वाचन समितिल ५१ प्रतिशत नपुगे मंगलबार नै सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने हुनाले सभापतिको मात्रै मतगणना गरेको जनाएको छ । मतदान आजै हुने समितिले जनाएको छ ।
अब दोस्रो चरणको चुनावमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।








