
नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार हुने करिब पक्का भएको छ । संस्थापन पक्षबाट महत महामन्त्रीको उम्मेदवार हुने पक्का भएपछि महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा, बालकृष्ण खाण, एनपी साउद लगायत नेताहरु ‘रिङआउट’ हुने सम्भावना छ ।
काँग्रेसमा महामन्त्रीका दुई सीट हुने भएता पनि एउटा महामन्त्रीमा कृष्णप्रसाद सिटौला पक्षलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । यो अवस्थामा सिटौला समूहबाट युवा नेता प्रदीप पौडेलले महामन्त्री पाउने सम्भावना बढेको छ ।
देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्माको दाबी छ । देउवालाई खाण, साउद र कार्कीमध्ये कसलाई रोज्ने भन्ने सकस छ । आफू भन्दा सिनियर नेता खाण, साउद र कार्कीले महामन्त्रीको उम्मेदवारका लागि देउवामाथि दबाब बढाएपछि शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारबाट ‘ब्याक’ हुने संकेत देखाएका छन् ।
यद्यपि शर्मालाई समेट्न देउवा टीममा युवा पंक्तिले दबाब दिइरहेको छ । संस्थापन इतर पक्षबाट गगन थापा महामन्त्रीको उम्मेदवार भन्ने निश्चित भएकाले शर्मालाई अगाडि सार्दा युवा पंक्तिलाई देउवा टीमसँग जोड्न सजिलो हुने बुझाइ पनि छ ।








