
खबरबाकस \ हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले बानियाँ निर्माण सेवाले उमहानगरको ठेक्का पार्दा उपमहानगरको करोडौं रकम जोगिएको बताएका छन् ।
सोमबार कार्यालयमा बानियाँ निर्माण सेवासँग हेटौंडा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण सम्झौता गर्दै महतले निकै कम रकममा ठेक्का पारी गुणस्तरीय काम सम्झौता गरेकोमा निर्माण सेवालाई धन्यवाद दिएका छन् ।
उनले यसै निर्माण सेवाबाट हेटौंडा बसपार्कमा बसटर्मिनलको गुणस्तरीय काम भइरहेको बताउदैं व्यापारिक भवनको पनि गुणस्तरीय काम हुनेमा आफु विस्वस्त रहेको बताए ।
हेटौंडा बाहिरको निर्माण कम्पनी परेको भए निकै गाह्रो हुने बताउदैं स्थानीय व्यक्तिको कम्पनीमा ठेक्का पर्दा समयमै काम सम्पन्न हुनेमा आफु ढुक्क रहेको बताए ।
हेटौंडा ४ मा रहेको बासुदेव सभागृहलाई भत्काएर उपमहानगरले व्यावसायिक बहुत्तले भवन निर्माण गर्न लागेको हो । उपमहानगरले ९६ करोड ३५ लाखमा खुलाएको ठेक्कामा निकै प्रतिस्पर्धामा बानियाँ निर्माणले ठेक्का पारेको हो । २ तला बेसमेन्ट सहित १२ तला सम्मको भवन निर्माणको लागि बानियाँ निर्माण सेवाले ४७ करोड ९३ लाखमा ठेक्का पारी सोमबार सम्झौता गरेको हो ।
निर्माण सेवाले उक्त भवन तीन वर्षमा निर्माण सम्पन्न गरिनुपर्ने सम्झौतामा उल्लेख रहेको छ । सम्झौतामा निर्माण सेवाका प्रवन्धक ऋषिराज बानियाँ र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शीवप्रसाद चौलागाईले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गर्दै बानियाँले तोकिएको समय भित्रनै निर्माण सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले बसपार्कमा निर्माणधिन बसटर्मिनल छोटो समयमै ४० प्रतिशत काम सकिएको बताउदैं समयमा नै व्यवपारिक भवन हस्तान्तरण गर्ने बताए । यो भवन निर्माणले हेटौंडाको अर्थतन्त्रमा परिवर्तन गर्न ठुलो भूमिका रहने बताउदैं आफ्नो कम्पनीबाट हेटौंडा ७ न्यूरेनीमा सय हाउजिङ निर्माणमा समेत लागि परेको बताए ।








