
खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको सभापतिको लागि दोस्रो चरणको मतदान सकिएको छ ।
निर्वाचन समितिले विहान साढे ११ बजेबाट सुरु हुने भनेता पनि विभिन्न समस्याका कारण १ बजेबाट मतदान प्रक्रिया सुरु भएको थियो । मतदान गर्ने समयसिमा साँझ ५ बजे सम्मलाई तोकिएको थियो ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ/संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए । जसमध्ये आज २हजार २५ मत खसेको छ । शनिबार भएको मतदानमा भने २ हजार ८३ मत खसेको थियो ।
सभापतिमा संस्थापन समूह इन्द्रबहादुर बानियाँ र संस्थापन इतर पौडेल समूहका जगदिश्वर नरसिंह केसी प्रतिस्पर्धामा उत्रेका छन् । पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास प्रधान बाहिरिए पछि दोस्रो चरणको निर्वाचनमा प्रधानले बानियाँलाई सघाएका थिए ।
मतदान सकिए लगत्तै मत गणना सुरु गरिएको छ । अन्य पदमा भने शनिबार नै मतदान भइसकेता पनि गणना हुन भने बाकीँ रहेको छ ।








