
खबरबाकस \ नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ र जगदिश्वर नरसिंह केसीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
शनिबार भएको मतदानमा बानियाँले ९९२ मत प्राप्त गरेका छन् भने केसीले ८७२ मत प्राप्त गरेका छन् । त्यस्तै भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका थिए । बानियाँ संस्थापन देउवा समूहका उम्मेदवार हो भने केसी पौडेल समूहका उम्मेदवार हुन । सिटौला समूहका उम्मेदवार भने प्रधान रहेका थिए ।
पार्टीको विधान अनुरुप सभापतिले खसेको मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान रहेकाले दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणको मतदानमा सिटौला समूहले कसलाई मतदान गर्छन भन्ने कुरामा सबैतिर कौतुहलता बढेको छ । सोही अनुरुप बानियाँ र केसीबीचको अबको दोस्रो चरणको मतदान प्रक्रियामा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ९७६ जना प्रदेश प्रतिनिधि १२४५जना र केन्द्रीय सदस्य १६ जना र शुभेच्छुक संघ/संस्थाका गरि दुई हजार १५१ जना मतदाता रहेका छन् । दोस्रो चरणको सभापतिको लागि मतदान आज विहान साढे ११ बजे सुरु गरिने निर्वाचन समितिले जनाएका छन् ।
चुनावी मैदानमा केन्द्रतहका नेता देउवा समूहका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बहादुर सिं लामा, उदयशमशेर राणा, केन्द्रीय मन्त्री तथा सांसदहरुको बानियाँ जिताउन लागि परेका छन् भने यता केसी जिताउन पौडेल समूहका केन्द्रीय नेता अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, गगन कुमार थापा लगायतका नेताहरु लागि परेकाछन् ।








