
खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको मतदान अझै सुरु भएका छैन् । निर्वाचनको कार्यतालिका अनुरुप विहान ९ बजेबाट हुनुपर्नेमा अन्तिम उम्मेदवारी नामावली र मतपत्र प्रकाशनको ढिलाईको कारण मतदान हुन सकेको छैन् ।
हेटौंडा १० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको अधिवेशनमा शनिबार मतदान कार्यक्रम रहेको थियो । मुलगेटमा मतदाताको भीड लागेको छ । पुर्वपश्चिम राजमार्ग सँग जोडिएकोले सवारी साधन आवतजावतमा समस्या रहेको छ ।
निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेका अनुसार मतपत्र छपाई भइरहेको केहीबेरमा मतदान प्रक्रिया सुरु हुने बताएका छन् । कर्णाली प्रदेश र प्रदेश नम्बर १ मा मतदान सुरु भएको छ । त्यस प्रदेशमा पनि प्राविधिक कारण देखाउदैं तोकिएको समय भन्दा ढिला मतदान सुरुभएको हो ।
प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री, सदस्यहरुमा प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेश सभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातितर्फबाट १७ जना, मधेशीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लिमबाट १ जना र अल्पसंख्यक वा अपाङ्गता मध्येबाट १ जना गरी ९१ जनाको नयाँ समिति बन्नेछ ।
बागमती प्रदेशमा प्रदेश प्रतिनिधि १२४५ जना, केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना र केन्द्रीय सदस्य १६ जना गरी दुई हजार १३७ जना मतदाता रहेका छन् ।








