
खबरबाकस \ नेपाली कांग्रेसको जारी प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।
दासको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र समर्थकमा कुन्दनराज काफ्ले छन् भने केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र समर्थकमा कृष्ण बानियाँ सबुज छन् । बानियाँको प्रस्तावकमा तिर्थ लामा र समर्थकमा दुर्लभ थापा रहेका छन् । शुक्रबार उम्मेदवारी दर्ता प्रक्रिया रहेको छ भने शनिबार विहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन टोलीले जनाएको छ ।

बानियाँ र केसीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने प्रधानको प्यानलमा पदाधिकारीले मात्र उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य रामप्रसाद अधिकारीले बताए । बानियाँको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटी खड्का (निरु) ले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै केसी समूहबाट उपसभापतिमा मोहन बहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल र कञ्चनचन्द्र बादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे र जीवन डंगोलले उम्मेदवारी दिएका छन् ।
प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री, सदस्यहरुमा प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेश सभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातितर्फबाट १७ जना, मधेशीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लिमबाट १ जना र अल्पसंख्यक वा अपाङ्गता मध्येबाट १ जना गरी ९१ जनाको नयाँ समिति बन्नेछ ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि, प्रदेश प्रतिनिधि र केन्द्रीय सदस्य गरी दुई हजार १३७ जना मतदाता रहेका छन् ।








