मुख्य खबरसमाचारफिचर

बागमती प्रदेश अधिवेशनः आज मनोनयन दर्ता, भोली मतदान

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तरगत बागमती प्रदेशको प्रथम अधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ता हुनेछ । विहान ८ बजेबाट उम्मेदवारी दर्ता प्रक्रिया रहने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशव काफ्लेले बताए ।
प्रदेशको राजधानी हेटौंडाको वन विज्ञान खेल मैदानमा बिहीबारबाट सुरु भएको अधिवेशनमा उम्मेदवारी दर्ता, दावीविरोध र उम्मेदवारी झिक्नेप्रक्रिया आज रहने काफ्लेले बताए । मतदान भने भोली शनिबार हुनेछ ।

अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका दुई हजार १३७ अधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछन् ।

प्रदेश सभापतिका लागि देउवा पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौं जिल्लाका पूर्व सभापति एवम् पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको उम्मेदवारी रहने चर्चा रहेको छ । नेता केसीले विहीबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गरी आफ्नो टिमको घोषणा गरेका छन् ।

प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री, सदस्यहरुमा प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेश सभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातीतर्फबाट १७ जना, मधेशीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लीमबाट १ जना र अल्पसंख्यक वा अपाङ्गता मध्येबाट १ जना गरी ९१ जनाको नयाँ समिति बन्नेछ ।