
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षमध्ये एक पशुपति शमशेर राणा आसन्न महाधिवेशनमा अध्यक्षका दुई आकाङ्क्षी कमल थापा र राजेन्द्र लिङ्देनको तानातानमा परेका छन् ।
भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको पूर्वसन्ध्या दुवै पक्षले राणालाई आफ्नो प्रभावमा पार्न कसरत सुरु गरेका हुन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदा दुवै पक्षलाई राणाको साथ अपरिहार्य रहेको छ । त्यसैले दुवै पक्षले राणालाई आफ्नो पक्षमा ल्याउन प्रयास सुरु गरेका हुन् ।
पार्टी स्रोतका अनुसार मंगलबार बिहान मात्र सगुन लावतीलगायतका नेताहरू राणालाई भेट्न उनको निवास पुगेका थिए । उनीहरूले राणालाई भेटेर लिङ्देनको पक्षमा खुल्न आग्रह थिए । लावतीहरू राणा निवासमा पुगेको थाहा पाएपछि कमल थापाले पनि आफूनिकट नेताहरूलाई राणालाई भेटेर कुराकानी गर्न उनको निवास पठाएका छन् ।








