
काठमाडौं \ नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नेता प्रधानले शनिबार काठमाडौंको शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले प्रदेश भित्रका सबै जिल्लाहरूसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने बताउनुभयो । नेता प्रधानले केन्द्रीय सदस्य हुमागाईंको प्रस्तावमा आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । हुमागाईं र प्रधान दुवै नेता कृष्णप्रसाद सिटौला निकट हुन् । तर, प्रधान निकट एक नेताका अनुसार देशैभरि सिटौला समूहले सभापति शेरबहादुर देउवा पक्षसँग गठबन्धन गर्ने समझदारी बनेको बताए ।
प्रधान काठमाडौंका पूर्वजिल्ला सभापति हुन् । १२ औं महाधिवेशनमा जिल्ला सभापति बनेका उनी १३ औँ महाधिवेशनमा भने पराजित भए । २०३३ सालबाट राजनीतिमा सक्रिय उनी हाल काठमाडौं क्षेत्र नं। ६ बाट प्रतिनिधिसभाका सदस्य छन् । उनी प्राध्यापक संघका सभापति र रक्षामन्त्रीसमेत भइसकेका छन् ।








