मुख्य खबरसमाचारफिचर

विद्यालयको लेखापालको मृत्यु हुँदा ८४ वटा विद्यालय बन्द

विद्यालय बन्द गरेको भन्दै मेयर महतको आक्रोश

श्रीजृना नेपाल

हेटौंडा \  हेटौंडा–१२ की सविना अधिकारी आइतबार विद्यालय जान पाउँदा मख्ख थिइन् । कोरोनाले गर्दा लामो समयदेखी बन्द हुँदै आएको विद्यालय चार्डपर्व सकिएलगत्तै खुलेपछि उनी खुसी थिइन् ।

तिहारअघि केहिदिन खुलेर बन्द भएको विद्यालय आइतबार खुल्दै थियो । कक्षा ८ मा पढ्ने सविना साथीहरुलाई भेट हुने , नियमित कक्षा सञ्चालन हुने र नयाँ कुरा सिक्न पाउने कुराले फुरुङ्ग थिइन् । बिहानभरि बारिमा मस्याङ काटेकी उनी खाना पनि पेटभरि खान नपाउँदै विद्यालयको लागी दौडिन् ।

तर,आइतबार विद्यालय बन्द भएको कुरा उनलाई त्यहाँ पुगेपछि मात्रै थाहा भयो । बल्ल बल्ल खुलेको स्कुल खुलेकैदिन बिदा भन्ने सुनेर उनी निराश भइन् । उनले विद्यालय बिदा हुनुको कारण सोध्न नपाउँदै शिक्षकहरुले सबैलाई चौरमा बोलाए र कुनै विद्यालयको शिक्षकको मृत्यु भएको भन्दै श्रद्वाञ्जली सभा गर्न लगाए । जुन शिक्षकको उनले श्रद्वाञ्जली सभा गर्दै थिइन् ,ती शिक्षकलाई न त उनले चिनेकी थिइन् न त ती शिक्षकले पढाउने स्कुलको नाम नै सुनेको थिइन् ।

तर, पनि शिक्षक त सबैको लागी उस्तै हुने भन्दै उनले साथीहरुसँगै ती शिक्षकप्रति श्रद्वाञ्जली व्यक्त गरिन् । श्रद्वाञ्जली सभा सकिएपछि शिक्षकहरु सबै विद्यार्थीलाई घर जान भनेको सुन्दा भने उनलाई नराम्रो लाग्यो । तर, पनि उनी साथीहरुसँगै स्कुलबाट एक अक्षर पनि नपढिकनै घर फर्किन् ।

सविना पढ्ने श्री बुद्ध माध्यामिक विद्यालय मात्रै होइन,आइतबार हेटौंडा उपमहानगरपालिकामा रहेको ८४ वटा सामुदायिक विद्यालय यस्तैगरि बिदा भए । केहिदिन अघि छिमेकी मुलुक भारत घुम्न गएका श्रमिक मावीको लेखापाल बिमल श्रेष्ठ टोनीको मृत्यु भएको थियो । विद्यालयबाटै भ्रमणमा गएका उनको भारतमा सुतेकै ठाउँमा मृत्यु भएको थियो ।

खेलकुद र सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेका उनको मृत्यु भएको ३ दिनपछि हेटौंडा उपमहानगरपालिका भित्रको ८३ विद्यालयले शोक परेको भन्दै विद्यार्थीहरुलाई बिदा दिए । विद्यालय विदा हुनेबारे अग्रिम जानकारी नभएपछि घण्टौं हिडेर स्कुल पढ्न हिडेका विद्यार्थीहरु एक अक्षर पनि नपढि फर्कनुपर्यो । मकवानपुरमा यो परम्परा विगत लामो समयदेखी चल्दै आएको छ ।

हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले एक शिक्षक वा कर्मचारीको मृत्यु भएको शोकमा उपमहानगरको सबै सामुदायिक विद्यालय बन्द गरेको भन्दै आक्रोश पोखे । उनले शिक्षकको मृत्यु भएको दुखद समयमा शोक सभा गरेर नियमित रुपमा विद्यालय सञ्चालन गर्नुपर्नेमा उपमहानगरभरिको सबै विद्यालय बन्द गरेर कयौं विद्यार्थीलाई दुख दिएको बताए । मेयर महतले टोनीको मृत्यु भएको शोकको घडीमा श्रमिक मावि मात्रै बिदा भएर अरु सबै विद्यालय सञ्चालन गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै विरोध गरे ।

‘कोरोनाले गर्दा लामो समयदेखी बन्द भएको विद्यालय आजबाट पुर्ण रुपमा सञ्चालनमा आउँदै थियो । तर, एउटा विद्यालयको शिक्षकको मृत्यु भएको भन्दै उपमहानगरभित्र रहेको ८४ वटा सामुदायिक विद्यालय बन्द गर्ने कामको म विरोध गर्छु ,’उनले भने । महतले आफूले सबै सामुदायिक विद्यालयहरुलाई आगामी दिनबाट यस्तो नगर्ने भन्दै लिखित सहमती नगरेसम्म तलव नै रोक्का गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक आह्वान गर्दै आइतबार शोक सभा गरेर विद्यालय बन्द गर्न आग्रह गरेको थियो । मेयर महतले महासंघले गरेको आह्वान गलत भएको भन्दै आगामी दिनमा यस्तो आह्वान गरेर विद्यालय बन्द नगर्न आग्रह गरे । महासंघको अध्यक्ष दीपक अधिकारीले शिक्षकको मृत्यु हुँदा कसरी सम्मान व्यक्त गर्नुपर्छ भन्ने विषय विद्यार्थीलाई सिकाउनको लागी विद्यालय बन्द गरिएको बताए ।

उनले पहिलेदेखी नै यसरी विद्यालय बन्द हुँदै आएकोले सोही अनुरुप आइतबार पनि उपमहानगरको सम्पुर्ण सामुदायिक विद्यालय बन्द गरिएको बताए । अधिकारीले आगामी दिनमा छलफल गरेर सुधार गर्दै लैजाने समेत बताए ।