
काठमाडौं \ आन्दोलन कानुन व्यवसायीहरुले वार्ताका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसन आन्दोलनरत छन् । कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले सोमबार वक्तव्य जारी गर्दै सम्वादमा आउन आग्रह गरेका छन् ।
तर बार र सर्वोच्च बार दुबैले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बताएको छ । अदालत परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘तपाईसँग वार्ता हुन सक्दैन, तपाई राजीनामा गर्नुस् ।’
जबराले राजीनामा दिएपछि आउने नयाँ नेतृत्वसँग मात्र न्यायलय सुधारका लागि वार्ता गर्ने उनले बताए ।








