मुख्य खबरसमाचारफिचर

हेटौडा काठमाण्डौ चल्ने सुमोमा टाईम कार्ड लागुगर्ने

संवाददाता

खबरबाकस \ पछिल्लो केही दिन यता मकवानपुर जिल्लाभित्र सडक दुर्घटनामा वृद्धि भई जनधनको क्षति हुनपुगेको वस्तुस्थितिलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यलय मकवानपुरले साबधानी अपनाएर सवारी चलाउन सवारीचालकहरुमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बिहिबार बसेको यातयात संचालक तथा सरोकारवाला निकायहरूको उपस्थितिमा सडक दुर्घटना न्यूनीकरणका सम्बन्धमा छलफल तथा महत्वपुर्ण निर्णयहरु भएको छ ।

बैठकले मादकपदार्थ सेवन चेकजाँच कार्यलाई नियमितरूपमा कडाईका साथ कार्यान्वयन गर्ने र मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने उपर तत्काल कानून बमोजिम कारबाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो ।

यस्तै बैठकले सडक दुर्घटना सम्भावित क्षेत्रहरूमा सडक बत्ति, ट्राफिक संकेत तथा चिन्हहरू लगायतका पूर्वाधार यथाशीघ्र स्थापना गर्ने,लामो दूरीका सवारी साधनहरूमा अनिवार्यरूपमा दुईजना सवारी चालक राख्ने, तिनतिन महिनामा कम्तिमा एकपटक सडक सचेतना एवं दुर्घटना न्यूनीकरण सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,भैसे–भीमफेदी–कुलेखानी–फाखेल-सिस्नेरी सडक खण्ड भई सञ्चालन हुने सुमोहरूको हकमा टाईम कार्ड लागू गर्ने,हेटौडा बजार क्षेत्रमा ई–रिक्सा र अटो मुख्य राजमार्ग तथा सडकहरूमा प्रवेश नगरी सहायक सडकबाट मात्र थप व्यवस्थितरूपमा सञ्चालन गर्ने जस्ता निर्णयहरु भएका छन् ।

यस्तै वस्तु स्थिति एवं सम्भाव्यता अध्ययनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको संयोजकत्वमा एक उप–समिति समेत गठन भएको छ । समितिले आवश्यक अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ ।

समिति सदस्यहरुमा हेटौडा उपमहानगरपालिका अधिकृत, यातायात व्यवस्था सेवा कार्यालय हेटौडाका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवापनुरका प्रहरी निरीक्षक श्री प्रकाश पाण्डे, जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक सुमन बानियाँ र नेपाल अटो ई–रिक्सा व्यवसायी संघ मकवानपुरका अध्यक्ष रहेकाछन् ।

साथै बैठकले सवारी चालक तथा सहचालकहरूले सवारी साधन सञ्चालनका क्रममा लागू पदार्थ औषध सेवन गरे नगरेको सम्बन्धमा स्वास्थ्य परीक्षणका निम्ति आवश्यक एन्टि ड्रग किट मार्फत चेकजाँच शुरू गर्ने निर्णय भएको छ ।