
हेटौंडा \ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर राणाले छिटै राजिनामा दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरले शुभदिपावली, नेपाल सम्वत एवं छठको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले आफ्नो साख जोगाउने हो भने प्रधानन्यायाधिशले छिटै राजिनामा दिनुपर्ने बताए ।
उनले प्रधानन्यायाधिशले राणाले ढिला गरे न्यायालयमा गरेका सेटिङ खुल्दै जाने र अपमानजनक बर्हिगमन हुने बताए । एकपछि अर्को सेटिङका कारण सर्वोच्च अदालतमा अहिलेको अवस्था सिर्जना भएको उनको भनाई थियो ।
उनले नेपाली कांग्रेसले आफ्नो अधिवेशन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिंदै भातृ संगठनहरुको समेत अधिवेशन सम्पन्न गरी कांग्रेसलाई सशक्त बनाउनुपर्ने बताए । उनले नेतृत्वमाथि प्रश्न गर्ने हैसियत बनाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति इन्द्रबहादुर बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहकारहरु, कार्यसमिति, विभिन्न भातृ एवं शुभेच्छुक संगठनका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।








