मुख्य खबरसमाचारफिचर

सोमबार मउवा संघको उम्मेदवारी दर्ता, भोली निर्वाचन

संवाददाता

खबरबाकस \ मकवानपुर उद्योग वाणिज्यसंघको ५४ र ५५ औं साधारण सभा आज आइतबार भएको छ । अधिवेसन वर्ष समेत रहेकाले आज सोमबार निर्वाचनका लागि उम्मेदवारहरुले नाम दर्ता गर्नेछन् ।

निर्वाचन अधिकृत ईश्वरराज ढकालका अनुसार विहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने र साढे १० बजे देखी १२ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय रहेको बताएका छन् ।

निर्वाचन तालिका सार्वजानिक भएसँगै उम्मेदवारहरु यतिखेर चुनावी मैदानमा रहेका छन् । सोमबार १२ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, १ बजे सम्म दावी विरोध, विरोध भएमा छानविन र फिर्ता लिने काम सकिए लगत्तै ४ बजे अन्तिम नामावली प्रकासन गरि निर्वाचन सम्बन्धी निर्देशिका एंव् सुचना प्रकासन गरिने निर्वाचन अधिकृत ढकालले बताए ।

भोली ९ गते भने विहान ९ बजेबाट पल्पसा सभागृहमा मतदान सुरु हुने र अपरान्ह ४ बजे मतदान कार्य समाप्त हुने जनाइएको छ । मतदान स्थलमा प्रचारप्रसार भने गर्न नपाइने जनाइएको छ ।

निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा रहेका छन् । निर्वमान अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष रहेका कृष्णकुमार गुप्ता (अग्रवाल) को प्यानल चुनावी मैदानमा रहेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका युवा व्यवसायी महेन्द्र राउतले अग्रवाल प्यानललाई समर्थन जनाउदैं उम्मेदवारी नदिने बताइएको छ । उनले व्यवसायी माझ अग्रवाल प्यानलका उम्मेदवारलाई विजयी गराउन सबै व्यवसायीलाई आग्रह गरेका छन् ।

नयाँ समितिमा एक अध्यक्ष ४ उपाध्यक्ष, निर्वाचित सदस्यहरुबाट १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष र १ सहकोषाध्यक्ष मनोनित हुनेछन् । त्यस्तै संचालक समितिले पछि थप ३ जना सदस्य मनोनित गरिने जनाइएको छ ।